टेलिभिजन अभिनेत्री सारा खानलाई कोरोना संक्रमण

मुम्बई । टेलिभिजन अभिनेत्री सारा खानलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल उनी होम–क्वारेन्टिनमा छन् ।

बिहीबार इन्स्टाग्राममार्फत साराले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, “म घरेलु उपचार विधि अपनाइरहेकी छु । किनभने यसले सबैभन्दा राम्रो काम गर्दछ । तातो पानीको बाफ यसको लागि राम्रो घरेलु उपचार हो ।

कोरोना भाइरस जसलाई पनि हुन सक्छ । त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा भनेको आफ्नो स्वास्थ्य राम्रो बनाइराख्नु नै हो । यदि तपाईंको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भने तपाईं भाइरससँग लड्न सक्नु हुनेछ।”

स्वास्थ्यमा सामान्य खराबी देखिने बित्तिकै कामबाट बिदा लिएको पनि साराले जानकारी दिएकी छन् । तर, पनि आफूसँग सम्पर्कमा आएका सबैलाई एकपटक परीक्षण गराउन उनले सुझाएकी छन् । उनी पछिल्लो समय ‘सन्तोषी माँ’ टेलिश्रृङ्खलाको छायांकनमा थिइन् ।