अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरी बम बिस्फोट हुदा १० जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित राजधानी काबुलमा बम बिस्फोट हुँदा उनका अंगरक्षकसहित १० जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन ।

उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएका छन् ।

‘उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,’ उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे बिस्फोट भएको खबर प्रहरीलाई प्राप्त भएको थियो ।

त्यसपछि प्रहरी तत्कालै घटनास्थलमा गएको थियो । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ ।