तेजाब प्रहार पीडितको निःशुल्क उपचार सहिद निम्न ऐन ल्याइयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडितसहित सहभागी विशेष कार्यक्रममा उनले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पुर्‍याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए ।

देशभरि तेजाब आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गरे । पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणासमेत गरे ।

प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई तेजाब आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे । “सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ”, उनले भने ।