कैलालीमा हिरासतमा युवकको मृत्यु

कैलाली । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका धनगढीका १९ वर्षका रोशन बिकको शुक्रबार विहान मृत्यु भएको छ ।

प्रहरीका अनुसार उनको शुक्रबार विहान ९ बजेर २५ मिनेटमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार रोशन हिरासतको शौचालयमा झुण्डिएको प्रहरीले विहान ९ः १५ बजे थाहा पाएको थियो ।

त्यसपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको थियो र चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनले शौचालयमा आफ्नै सर्टको पासो बनाएर झुण्डिएको भनी जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

भदौ २२ गते पक्राउ परेका रोशनमाथि चोरीसम्बन्धी मुद्धामा अनुसन्धानका लागि प्रहरीले भदौ २३ गते जिल्ला अदालतबाट अनुमति लिएर न्यायिक हिरासतमा राखेको थियो । हिरासतमा उनीसहित १४ जना थिए ।

प्रहरी स्रोतका अनुसार शुक्रबार विहान रोशन शौचालय गएका थिए र धेरैबेर नआएपछि खोजी गर्दा शौचालयमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

हिरासतमै युवकको मृत्यु भएपछि उनका आफन्त र परिवारजनले प्रहरीले हत्या गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले शुक्रबार दिनभरजसो जिल्ला प्रहरी कार्यालयबाहिर प्रदर्शन पनि गरे ।

उनीहरुले प्रहरीले आफूहरुलाई घटनाको ढिलो जानकारी दिनुमा रहस्य रहेको बताएका छन् ।

अहिले उनको शव धनगढीको सेती अस्पतालमा राखिएको छ ।

आफन्त र परिवारका सदस्यले रोशनको शरीरमा चोटसमेत देखिएको बताएका छन् । ‘प्रहरीले बुटले हानेर भाइको हत्या गरेको हो’ मृतकका दाजुले भने, ‘हामीलाई आत्महत्या भनिएको छ । यो आत्महत्या होइन । हत्या हो ।’