चितवनमा कोरोनासँग मिल्दो लक्षण भएका ३ जनाको मृत्यु

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएका तीन जनाको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बिहीबार र शुक्रबार गरी तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष छन् । एक जना जनरल आईसीयूमा र दुई जनाको आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार शुक्रबार मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीय किशोरी रहेकी छिन् ।

उनी आकस्मिक कक्षमा उपचाररत थिइन् । यस्तै रत्ननगर नगरपालिकाका ४० वर्षीय पुरुषको बिहीबार राति आकस्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

बिहीबार दिउँसो आईसीयू कक्षमै खैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको पनि उपचारको क्रममा मृत्यु भएको पौडेलले बताए । ती युवती तीन दिनदेखि आईसीयू कक्षमा उपचाररत थिइन् ।