सिरहा कारागारका १७ महिला कैदीबन्दीमा कोरोना संक्रमण

जनकपुरधाम । सिरहा कारागारका थप १७ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालयका निमित्त प्रमुख बविता कुमारी महतोका अनुसार शुक्रबार आएको नतिजा अनुसार १७ जना महिला कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनका अनुसार दुई जना आश्रित बालबालिकामा पनि संक्रमण पुष्टि भएको छ । उनका अनुसार कारागारमा रहेका १८ जना महिला कैदीबन्दी मध्ये १ महिलाको रिपोर्ट मात्रै नेगेटिभ आएको छ ।

यसअघि यस कारागारका ५९ जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको थियो ।

बुधबार आएको रिपोर्टमा ५९ जना कैदीबन्दीमा एकैसाथ कोरोना संक्रमण देखिएपछि अन्य कैदीबन्दीको पनि स्वाब संकलन गर्दै परीक्षण गराउन थालिएको छ ।

१ सय ५० जना कैदी बन्दी राख्ने क्षमता भएको यो कारागारमा अहिले ५ सय ९६ जना कैदी बन्दी छन् ।