बहराइन र इजरायलबीच शान्ति सम्झौता

काठमाडौं । इजरायल र खाडी देश बहराइन एकअर्काबीच सम्बन्ध सामान्य बनाउन सहमत भएका छन् । अमेरिकाको पहलमा इजरायल र खाडी देशबीच ‘शान्ति सम्झौता’ भएको हो ।

यसको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले दिएका छन् । ट्रम्पले ट्वीट गर्दै ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको बताएका छन् । एक महिनाअघि अमेरिकाकै पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच ऐतिहासिक शान्ति सम्झौता भएको थियो । यसको औपचारिक हस्ताक्षर आउँदो मंगलबार वाशिङ्गटन डिसीमा हुँदै छ ।

दशकौंदेखि धेरैजसो अरब देशहरुले इजरायललाई बहिस्कार गर्दै आएका छन् । उनीहरु प्यालेस्टिनी विवाद समाधान गरेपछि मात्रै इजरायलसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताउँछन् । इरानले इजरायलसँग शान्ति सम्झौता गरेर युएईले मुस्लिम देशहरुलाई धोका दिएको आरोप लगाउँदे आएको छ ।

हालै युएईले इजरायलसँग सम्बन्ध सुधारको सम्झौता गरेपछि अब बहराइनले पनि त्यस्तै गर्छ भन्ने अड्कलबाजी सुरु गरिएको थियो । इजरायल–प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्यले ट्रम्पले जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए । सोही योजनाअनुसार ट्रम्प इजरायल–युएई र इजरायल–बहराइनबीच सम्झौता गराउन सफल भएको बताइएको छ ।

सम्झौतापछि इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले शुक्रबार बहराइनसँग पनि शान्ति सम्झौता भएपछि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘यो शान्तिको नयाँ युग हो । शान्तिका लागि शान्ति । अर्थव्यवस्थाका लागि अर्थव्यवस्था । हामीले धेरै वर्षदेखि शान्तिका लागि कोसिस गर्यौं । अब शान्तिले हाम्रा लागि कोसिस गर्ने छ ।’

युएईले पनि इजरायल–बहराइन शान्ति सम्झौताको स्वागत गरेको छ । युएईको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ, ‘एक अर्को महत्वपूर्ण र ऐतिहासिक उपलब्धि, जसले क्षेत्रीय स्थिरता र समृद्धिमा धेरै ठूलो योगदान दिने छ ।’