बागलुङको ताराखोलामा बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा वर्षासँगै आएको बाढीले पाँच वटा झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ ।

गाउँपालिकाको दोगाडी घाट, करीमेलाको उपल्लो र तल्लो, मिचेक घाट र कुचुङ्गे घाटको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको हो । मिचेक घाटको पुल बाढीले बगाएको छ भने अन्य पुलमा क्षति पुर्‍याएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार पुल मर्मत सँभार गर्नका लागि मात्रै एक करोडभन्दा बढी खर्च लाग्नेछ । यस्तै दलामचौर घाटमा रहेको अस्थायी मोटरेबल पुल समेत बाढीले बगाएको छ । पुल बगाएपछि ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्णरूपमा अवरुद्ध बनेको छ ।

ताराखोलाको करिमेला, ताराखोला र मपेस खोलामा आएको बाढीले पाँच किलोमिटर सडकमा समेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । गाउँपालिकाको अधिकांश भागमा आपूर्ति हुँदैआएको ३८० किलोवाटको ताराखोला लघु जलविद्युत् परियोजनामा विद्युत उत्पादन बन्द भएको छ ।

ताराखोला–१ पूरै र सिले र अर्गलको केही भाग बाहेक अन्य स्थान अन्धकार भएको छ । बाढीले लघु जलविद्युत् आयोजनाको इन्टेक, पोल तथा तारमा क्षति पुर्‍याएको छ । गाउँपालिकाको वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खण्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो बगाएको छ ।