गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार लम्जुङमा १७, पूर्वी नवलपरासीमा ८, स्याङ्जामा ४, कास्कीमा २ र तनहुँमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ३५ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले आइतबार बिहान ७ः५० बजे सार्वजनिक गरेको विवरणअनुसार लम्जुङको सुन्दरबजार–९ का १६ जना र बेंसिशहर-२ का एक जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पूर्वी नवलपरासीको गैंडाकोटमा ६ जना तथा मध्यविन्दु र हुप्सेकोटका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको पुतलीबजारका ३ जना र बिरुवाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं। १६ की २० वर्षीया महिला र वडा नं. ९ की ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यसैगरी तनहुँको भानु नगरपालिका ४ का ५० वर्षीय पुरुष पनि संक्रमित भएका स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।