यसकारण पाँचतारे होटल टाइगर प्यालेसले हटायो ४०० कामदार ?

पाँचतारे होटल टाइगर प्यालेसले हटायो ३९४ कामदार

बुटवल । कोरोना महामारीका कारण आर्थिक संकट उत्पन्न भएको भन्दै रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टले झण्डै ४०० कर्मचारीलाई कामबाट निकालेको छ ।

अस्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित होटेलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर अब करार सम्झौता नवीकरण नहुने स्पष्ट पारेको हो । कामबाट निकालिनेहरुमा रिसोर्टको माथिल्लो पद जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ३९३ जना नेपाली कमदार रहेका छन् ।

रिसोर्टमा क्यासिनो समेत सञ्चालित थियो । सेप्टेम्बर ९ तारिखमा पठाइएको इमेलमा करार सम्झौता नवीकरण नहुने भएकाले आफ्नो व्यवस्थापन आफैं गर्न र भविष्यमा होटेल खुलेपछि कर्मचारी माग हुँदा उपयुक्त पदमा आवेदन दिन सकिने उल्लेख छ ।

कोरोना महामारीले निम्ताएको अकल्पनीय परिस्थितिमा होटेल बन्द भई आम्दानी शून्य हुँदा पनि कम्पनीले सबै कर्मचारीलाई ५० प्रतिशत तलब दिएको इमेलमा स्मरण गराइएको छ । ‘कोरोना महामारीले होटेल बन्द हुँदा कम्पनी आर्थिक संकटमा परेरै होला, कर्मचारीको कन्ट्रयाक्ट रिन्यु नहुने भनेर मलाई पनि इमेल आएको छ,’ होटलका एचआर म्यानेजर इन्द्र भट्टराईले भने, ‘कम्पनीको सिनियर टिम अष्ट्रेलिया र हङकङमा हुनुहुन्छ, मैले पनि सम्पर्क गरिहेको छु,उहाँहरुसँग क्लियर भएपछि मात्रै थप कुरा थाहा होला ।’

तर कर्मचारीहरुले करार अवधि सकिएकाले निकालिएको भन्ने कम्पनीको भनाइमा कर्मचारीको असहमति छ । करार अवधि सकिएको एक वर्ष पुगिसकेको कर्मचारीहरुको भनाइ छ । नेपाली कामदारलाई कामबाट निकाल्दा विदेशी कामदारलाई भने ननिकालेको कर्मचारी चित्र भण्डारीले बताए ।

कम्पनीले कर्मचारीसँग छलफल र सल्लाह नै नगरी एक्कासी इमेलबाट पत्र पठाएर जागिरबाट हटाइएको जानकारी पाउँदा अन्योलता भएको उनले गुनासो गरे । ‘कोरोनाले होटल बन्द भएकाले हामी न्यूनतम तलबमा चित्त बुझाउन तयार छौं, तर रोजगारी नै खोस्न पाइँदैन,’ भण्डारीको तर्क छ,’श्रम ऐन अनुसार २ वर्षभन्दा बढी अवधि काम गरेका कामदारहरुलाई निकाल्न पाइँदैन ।’