थप २३ जनामा कोरोना संक्रमण

दाङ । घोराही उपमहानगरपालिकामा कार्यरत ६ जना कर्मचारीसहित थप २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार गरिएको कोरोना परीक्षणका क्रममा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये घोराही उपमहानगरपालिकाको स्वास्थ्य, भौतिक पूर्वाधार, सञ्‍चार शाखालगायत कार्यरत कर्मचारीसहित एक जना कार्यालय सहयोगी गरी ६ जनामा कोरोना संक्रमण देखिएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।

उनका अनुसार अन्य व्यक्तिहरुमा कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षणका क्रममा संक्रमण देखिएको उनले बताए । घोराही उपमहानगरपालिकाका विभिन्‍न स्थान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट स्वाब संकलन गरिएका ९५ जनाको स्वाव परीक्षणका क्रममा ११ जना पुरुष र १२ महिलाहरुमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २ जना बालबालिकाहरु समेत रहेका छन् । योसँगै घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ भने दाङमा कोरोना संक्रमितको संख्या ९४२ जना पुगेको छ । घोराही उपमहानगरपालिकाका ३८८ जना संक्रमितमध्ये २७७ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।