गण्डकी प्रदेशमा ४० प्रहरीसहित ७४ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा बिहीबार ४० जना नेपाल प्रहरीमा कार्यरतसहित ७४ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणका क्रममा ७४ जना कोरोना संक्रमित फेला परेका हुन् । जसमा पोखरा महानगरपालिका–१५ का ३९ जना पुरुषहरु र १ जना महिला नेपाल प्रहरीमा कार्यरत छन् ।

त्यसैगरी पोखरा महानगरपालिका–८ का ३९ वर्षीय, १४ का ३५ वर्ष, १७ का ३७ वर्ष र २९ का ४० वर्षका गरी चारजना भारतबाट आएर क्‍वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् । अन्य ३० जना व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङबाट पहिचान गरिएको निर्देशनालयले जनाएको छ ।

संक्रमित देखिएका सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेकोसमेत जनाइएको छ । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार २८० पुगेको छ ।