कांग्रेस सभापति देउवाद्वारा महामन्‍त्री कोइरालाको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा.शशांक कोइरालाप्रति स्वास्थ्यलाभको शुभेच्छा प्रकट गरेका छन् ।

कांग्रेसले प्रेस विज्ञप्ति जारी गरेर सभापति देउवाद्वारा महामन्त्री कोइरालाको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गरिएको जनाएको छ । “सभापति शेरबहादुर देउवाले महामन्त्री कोइरालाको स्वास्थ्यबारे नियमित चासो राख्नुसँगै यथाशीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ,” मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मंगलबार राति एक्कासि शरीरको तापक्रम बढेपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइरालालाई ओम अस्पतालमा भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । महामन्त्री कोइरालालाई भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै आफू अस्पतालमा अझै २–३ दिन बस्ने पनि जानकारी दिएका छन् ।

“म कोभिड–१९ बाट प्रभावित भएको व्यक्ति आज ओम नर्सिङ होममा आइसोलेसनमा छु । तपाईंहरुले चिन्ता गर्नुपर्दैन । दुई–तीन दिन अझै यहाँ बसेर म डिस्चार्ज हुन्छु । यति नै भनौं भनेर तपाईं सम्पूर्णलाई आग्रह छ,” महामन्त्री कोइरालाले भिडियो सन्देशमा भनेका छन् ।