सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति

काठमाडौं । सरकारले सिट क्षमता अनुसार आन्तरिक हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रीस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्‍चालन गर्न अनुमति दिएको हो ।

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्‍चालकहरुले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन् । मन्त्रालयले सिट क्षमता नतोकेपछि शतप्रतिशत क्षमतामा नै सञ्‍चालन गर्न दिनु भन्‍ने आफूहरुले बुझेको एक उच्च अधिकारीले बताए । असोज ५ गते सोमबारदेखि आन्तरिक हवाई सेवा सुचारु हुने ती अधिकारीले बताए ।

व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए । सरकारले कोरोना महामारी सुरु भएसँगै गत चैत ११ गतेदेखि आन्तरिक उडान सेवा रोकेको थियो ।