कोभिड–१९ कै बीच‘‘द वाइफ’को छायांकन सकियो

एजेन्सी । कोरोना महामारीका कारण लामो समयको विश्रामपछि विभिन्‍न देशका कलाकारहरु विस्तारै छायांकनमा फर्किन थालेका छन् ।

लकडाउनका कारण स्थगित भएका चलचित्र, टेलिभिजन श्रृङ्खलाहरु पनि विस्तारै छायांकनमा फर्किन थालेका छन्, तर कुनै पनि चलचित्रको छायांकन सकिएको थिएन ।

यसैबीच अभिनेता गुरमित चौधरी अभिनित ‘द वाइफ’ कोरोना महामारीकाबीच छायांकन सक्‍ने पहिलो चलचित्र बनेको छ । लकडाउनका कारण केही प्रतिशत छायांकन बाँकी राखेर स्थगित भएको जी स्टुडियोको निर्माणमा बनेको चलचित्र ‘दि वाइफ’ ले लकडाउनपछि छायांकन पुनःसुरु गरी चलचित्रको सम्पूर्ण छायांकन सकेको हो ।

आवश्यक सुरक्षाका सावधानी अपनाउँदै यही अगस्तमा चलचित्रको पुनः छायांकन सुरु गरिएको हो ।

छायांकनबारे गुरमित भन्छन्,“यो एक महिना एकदमै व्यस्त र महत्वपूर्ण तालिका रह्यो । हाम्रो टिमको उत्कृष्ट दक्षता र कडा परिश्रमका कारण हामीले समयमै सम्पन्‍न गर्न सक्यौं । जी स्टुडियोले आवश्यक सुरक्षाका सावधानी अपनाउँदै सबैको स्वास्थ्यको राम्रोसँग ख्याल राखेको छ । अन्तत हामीले छायांकन सकाएका छौं र दर्शकसामु चलचित्र पस्कन आतुर छौं ।”

‘द वाइफ’ एक्सन, रोमान्स र ड्रामाको समिश्रण हो ।