सेयर बजारको पुँजीकरण हालसम्मकै उच्च

काठमाडौं । यो साता सेयर बजारमा बजार पुँजीकरणले इतिहास रचेको छ ।

बजार पुँजीकरण हालसम्मकै उच्च पुगेको छ । नेपाल स्टक एक्सचेञ्‍ज नेप्सेको यो साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको कुल बजार पुँजीकरण २० खर्ब ९० अर्ब २ करोड ६६ लाख रुपैयाँ पुगेको छ । जुन हालसम्मकै बढी हो ।

यो साता बजार परिसूचक नेप्से ५१.५ अंक अर्थात ३.३९ प्रतिशतले वृद्धि हुँदा बजार पुँजीकरण पनि ३.३९ प्रतिशत अथात् ६८ अर्ब ४५ करोड ६७ लाख रुपैयाँले बढेको छ । गत साता १५२०.६९ अंकमा बन्द भएको नेप्से यो साता बढेर १५७२.१९ अंकमा पुगेको छ । त्यस्तै बजार पुँजीकरण पनि २० खर्ब २१ अर्ब ७५ करोडबाट बढेर २० खर्ब ९० अर्ब २० करोड ६६ लाख पुगेको छ । यसअघि २०७६ फागुन १५ गते नेप्से परिसूचक १६३२.१८ अंकमा पुग्दा बजार पुँजीकरण २० खर्ब ८३ अर्ब पुगेको थियो । त्यस्तै त्यसभन्दा अगाडि २०७३ साउन १२ गते नेप्से परिसूचक १८८१.४५ अंकमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७८ अर्ब पुगेको थियो ।

बजार पुँजीकरणले यसअघिको सबै रेकर्ड ब्रेक गर्दा पनि नेप्से परिसूचक भने २०७३ साउन १२ गतेको भन्दा ३०० अंकभन्दा पनि कम रहेको छ । यस्तै गत फागुनको भन्दा नेप्से ५३ अंकभन्दा बढीले कम रहको छ । २०७६ फागुनपछि नेप्सेमा अहिले बजार पुँजीकरणमा दोस्रो स्थामनमा रहेको नेपाल पुनर्बिमासँगै, एनआरएन इन्फ्रास्टक्चर, एनआईसी एशिया लघुवित्त, रिलायन्स लाइफ इन्स्योरेन्स, अजोड इन्स्योरेन्स तथा साधन लघुवित्त नेप्सेमा सूचीकृत भएका छन् । यी कम्पनीको बजार पुँजीकरण करिब १ खर्ब २५ अर्बको हाराहारीमा रहेको छ । जसले गर्दा नेप्से तल हुँदा पनि फागुनको भन्दा बजार पुँजीकरण भने माथि पुगेको छ ।

सातामा ५ कारोबार दिनमा ५ दिन नै कारोबार भएको नेप्सेमा यो साता २०४ कम्पनीको १४ अर्ब १९ करोड १ लाख ३४ हजार ७४० रुपैयाँको सेयर कारोबार भएको छ । साताभर २ लाख १ हजार ४२८ वटा कारोबारमा ४ करोड २३ लाख ४६ हजार १३८ कित्ता सेयर किनबेच भएको छ । यो साता नेप्सेमा होटल, हाइड्रोपावर, वित्त कम्पनी, र विकास बैंकक समूहको सूचकमा उछाल देखिएको छ । यस्तै वाणिज्य बैंक र जीवन बिमा समूहको सूचकले पनि साथ दिँदा नेप्सेमा वृद्धि हुँदा बजार पुँजीकरण ऐतिहासिक बनेको छ ।

यो साता पनि बजारमा नेपाल पुनर्बिमा कम्पनीमा नै लगानीकर्ताको आकर्षण देखिएको छ । कम्पनीको सेयर ८२ करोड ४९ लाख रुपैयाँको किनबेच भएको छ । त्यस्तै नेपाल लाइफको ५३ करोड १६ लाख रुपैयाँ नेपाल बैंकको ४१ करोड ८ लाख, नेको इन्स्योरेन्सको ३९ करोड २० लाख, नागरिक लगानी कोषको ३४ करोड ६० लाख, शिवम् सिमेन्टको ३१ करोड ६३ लाखको सेयर कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्सको ३० करोड ४१ लाख, सुर्या लाइफको ३० करोड ४१ लाख, प्रिमीयर इन्स्योरेन्सको २५ करोड २७ लाख र एशियन लाइफको २५ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बजार पुँजीकरणमा भने नेपाल दुरसञ्‍चार कम्पनी नै अग्रस्थानमा रहेको छ । कम्पनीको बजार पुँजीकरण १ खर्ब ६ अर्ब ८० करोड रहेको छ । त्यस्तै दोस्रो स्थानमा नेपाल पुनर्बिमा कम्पनीको बजार पुँजीकरण ८७ अर्ब ६० करोड रहेको छ । नबिल बैंकको ८६ अर्ब ६३ करोड, नेपाल लाइफको ७७ अर्ब २८ करोड एभरेष्ट बैंकको ६२ अर्ब ७६ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको ६१ अर्ब १३ करोड, एनएमबी बैंकको ५९ अर्ब २९ करोड, एनआईसी एशिया बैंकको ५७ अर्ब ३३ करोड, नागरिक लगानी कोषको ५६ अर्ब ४३ करोड, र हिमालयन बैंकको ५३ अर्ब ८० करोडको बजार पुँजीकरण रहेको छ ।

नागरिक लगानी कोष बजार पुँजीकरणमा शीर्ष १० मा पुग्दा स्टान्डर्ड चाटर्ड बैंक भने बजार पुँजीकरणमा शीर्ष १० कम्पनीबाट बाहिरिएको छ ।

सरकारले हिजो असोज १ गतेबाट होटल खुला गर्ने निर्णय गरेसँगै होटेल समूहको सूचकमा समेत उछाल आएको हो । यस्तै सस्तो सेयर मुल्य रहेको हाइड्रोपावरको सेयर मुल्यमा पनि उछाल आएको छ । विद्युत प्राधिकरणमा सुधार गर्दै लोडसेडिङ अन्त्य गरेको कुलमा घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकबाट बाहिरिदा हाड्रोपावरको सेयर मुल्यमा उछाल आएको छ ।

घिसिङलाई निजी प्रबर्द्धनमा सञ्‍चालित हाइड्रोपावरलाई समस्यामा पारेको आरोप लाग्दै आएको थियो । उनि प्राधिकरणबाट बाहिरिने पक्का हुँदा हाइड्रोपावरको सेयर मुल्यमा उछाल आएको स्रोतको भनाइ छ ।