पश्चिम जाजरकोटमा सुरक्षा माग

चन्दा आतङ्कले हैरान भएकाहरूले गरे सुरक्षा माग

जाजरकोट । जिल्लाको समग्र विकास निर्माण तथा शान्ति सुरक्षाको अनुगमन र निरीक्षण गर्दै हिँडेका सरकारी अधिकारीलाई मागको थुप्रो लागेको छ । स्थानीय तहका प्रमुखदेखि सर्वसाधारणको मागले सरकारी अधिकारी अचम्मित भएका छन् ।

सोचेकोभन्दा फरक मागको ओइरो आएपछि प्रमुख जिल्ला अधिकारी चेतराज बराल, प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक अच्युत मजगैया, राष्ट्रिय अनुसन्धान विभागका नायब उपरीक्षक ओमबहादुर खड्का र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मी अचम्मित भएका हुन् ।

पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाभित्र रहेको थलह बजारमा भएको छलफलमा यहाँका सर्वसाधारणले प्रहरी चौकीको माग, नियमित बजार अनुगमन तथा निरीक्षण, चोरीपैठारी नियन्त्रण र नियमित सडक निर्माणको पहल गर्न माग गरेका छन् । वर्षौँदेखि अलपत्र रहेको मोर्क खोलाको पुल निर्माणमा ध्यान दिनसमेत ध्यानाकर्षण गराएका छन् ।