चितवनमा ६ महिनापछि चार उडान

चितवन । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले लकडाउन जारी गरेपछि झण्डै ६ महिना बन्द भएका आन्तरिक उडान आज सोमवारदेखि सुरू भएका छन् । आज पहिलो दिन चितवनमा बुद्ध र यती एयरलाइन्सरले दुई–दुई उडान गर्ने भएका छन् ।

भरतपुर विमानस्थलले आन्तरिक उडान सुरु भएकाले आवश्यक तयारी तथा सुरक्षाका मापदण्ड सम्बन्धी बिभिन्न व्यवस्था गरेको जनाएको छ । विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले आन्तरिक उडानलाई लक्षित गर्दै आइतवार विमानस्थलमा स्वास्थ्य सुरक्षा पूर्वतयारी तालिम गरिएको बताए । तालिममा प्रस्थान कक्षबाट नै निर्मलीकरण, स्वास्थ्य जांँच, सामान चेकिङ्ग र टिकट चेकिङ्ग, बोर्डिङ्ग पास र विमान प्रतिक्षा कक्षसम्म यसको नमुना प्रदर्शन गरिएको थियो ।

प्रमुख कुंँवरले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरिने बताए । उनका अनुसार विमानस्थलको प्रमुखद्वारबाट नै यात्रुलाई मात्र प्रवेश दिइने र विमानस्थलभित्र आउने सवारीसाधनलाई समेत दूरी कायम गरी सीमित सवारी साधन मात्र प्रवेश गराइने छ । स्वास्थ्यमा समस्या आएका या शंकास्पद विरामी यात्रुका लागि आइसोलेसन कक्षको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।