डाक्टर केसी काठमाडौं फर्किँदै

काठमाडौं । जुम्लामा अनशनरत डा.गोविन्द केसी काठमाडौंतर्फ आएका छन् ।

नेपालगञ्जसम्म एम्बुलेन्समा आएका केसी सोमबार साँझ काठमाडौं आउने विमान नभएका कारण नेपालगञ्जमै रोकिएका छन् ।

उनलाई सोमबार नेपालगञ्जकै भेरी अस्पतालमा राखिएको छ ।

केसी मंगलबार विहान ११ बजेको उडानमा काठमाडौं आउने तयारी रहेको उनका सहयोगी डा.प्रवीण गिरीले जानकारी दिए ।

जुम्लामा अनशन बसेको आठौं दिन सोमबार केसीले अब काठमाडौं पुगेर नै सत्याग्रह जारी राख्ने बताउँदै जुम्ला छाडेका थिए ।

दुई वर्षअघि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका बेला केसीलाई काठमाडौंतर्फ लैजान आएको सरकारी टोलीले अस्पतालमा तोडफोड गरेको थियो ।

केसीले यस वर्ष पनि त्यस्तै संकेत देखिएकाले आफूले काठमाडौं फर्किएर नै सत्याग्रह गर्न लागेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड गर्याे अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरु पदमा छन् ।

त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं’ उनले विज्ञप्तिमा भनेका छन् ।

सत्याग्रहको ८ औं दिनसम्म माग पूरा गर्ने सरकारले कुनै प्रयास नगरेको र उल्टै सत्याग्रहस्थलबाट अपहरण शैलीमा अस्पताल पुर्यागएको बताएका छन् ।

उनले जुम्लामा सत्याग्रहका क्रममा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद दिदै सबै मागहरु पूरा गराएर मात्रै सत्याग्रह टुंगिने बताएका छन् ।

यसपटक डा.केसीले पहिलेका सहमति कार्यान्वयन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्ने, पीसीआर परीक्षण बढाएर लकडाउन र निषेधाज्ञा खुला गर्नुपर्ने, वयलपाटा अस्पतालमा निशुल्क उपचार पाउने व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर अनशन बसेका छन् ।