कोरोना संक्रमितको शव १९ घण्टा बित्दा पनि उठेन

सप्तरी । आइतबार साँझ करिब ५ः३० बजे मृत्यु भएकी सप्तरीकी कोरोना संक्रमित महिलाको शव १९ घण्टा बित्दा समेत अझै उठ्न सकेको छैन ।

आइसोलेसनको खुल्ला प्राङ्गणमा शवलाई राखिएको छ । खुल्ला ठाउँमा राखिएका कारण रातभरको अविरल वर्षाले शव भिज्न पुगेको मृतकका आफन्तले बताएका छन् ।  बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ निवासी ६२ वर्षीया महिलाको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ मृत्यु भएको थियो ।

गत असोज २ गते श्वास प्रश्वासमा समस्या भएपछि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरिएपछि पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । परीक्षणको रिपोर्ट आइतबार दिउँसो पोजेटिभ आएपछि उनलाई आइसोलेसन केन्द्रमा पठाइए पनि त्यसको केही समयपछि उनको मृत्यु भएको थियो ।  मृतक महिलाको शव बाहिर राखेको र तत्कालै व्यवस्थापन नगर्दा पानीमा भिजिरहेको छ । यहाँ आइतबार रातदेखि नै वर्षा भइरहेको छ ।

शव खाना खानो ठाउँ नजिकै राखिएका कारण आइसोलेसनमा भर्ना भएका अधिकांश कोरोना संक्रमितले खाना समेत नखाएको आइसोलेसनमा बसेका संक्रमितहरुले बताएका छन् । एक संक्रमितका अनुसार खाना खाने ठाउँदेखि २० मिटरको दूरीमा शव राखिएका कारण रातिदेखि नै धेरै मान्छेले खाना खाएका छैनन् ।

खाना खाए स्थल नजिकै संक्रमितको शवलाई राखेपछि संक्रमितहरुले अहिले आइसोलेसन केन्द्रमा नाराबाजी गरिरहेका छन् । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले स्थानीय पालिका प्रमुखले ध्यान नदिएका कारण शव व्यवस्थापनमा ढिलो भएको स्वीकारे । ‘शव व्यवस्थापन गर्ने ठाउँ पालिका प्रमुखले देखाइदिनुपर्‍यो । खाल्डा खन्न स्काभेटर दिनुपर्‍यो,’ प्रजिअ आचार्यले भने, “मृत्यु भएकै समयदेखि हामी शव व्यवस्थापनको तयारीमा छौं । पालिका प्रमुखले मोबाइलको स्वीच नै अफ गरेका कारण शव व्यवस्थापनमा ढिलाइ भएको हो ।”