होमस्टे व्यवसायी धमाधम कृषिमा

बाँके । कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे (घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् ।

कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् । बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट २० लाख रुपैयाँ ऋण निकालेर होमस्टेमा लगानी गरेका थिए । उनको यस व्यवसाय विस्तारै फस्टाइरहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकहरु होमस्टेमा आउने क्रम बढ्दै थियो । पर्यटकको स्वागत सत्कारमा उनको परिवार व्यस्त हुने गर्दथ्यो ।

त्यतिबेला उनलाई केही वर्षअघि नै होमस्टे शुरु गर्न पाएको भए राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने लागेको पनि थियो । आम्दानी भएपछि ऋण चुक्ता गर्न उनलाई खासै समस्या थिएन । बैंकलाई पाँच लाख रुपैयाँ बुझाउन बाँकी थियो । पाँच महिना यता भने उनलाई त्यो व्यवसाय निकै समस्या बन्न पुग्यो । कोभिड–१९ को प्रभावपछि पर्यटकको आगमन नभएपछि अब बैंकको ऋण कसरी तिर्ने र आफ्नो गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताउन थालेको छ । उनले भने, ‘कोही पाहुना आइहाले पनि रोगको सङ्क्रमणको त्रासले गर्दा डराउनुपर्ने स्थिति छ ।’ गत चैतमा लकडाउन भएपछि मासिक पाँच हजार रुपयाँ किस्ता तिर्न पनि मुस्किल परेको जैसीले बताए ।