मंगलबार सेयर बजारमा गिरावट

काठमाडौं । सेयर बजारमा मंगलबार अधिकांशक कम्पनीको सेयर मूल्य घटेको छ । लगानीकर्ताले नाफा बुक गर्ने क्रम लगातार दोस्रो दिन कायम रहँदा नेप्से परिसूचक आज २२.९१ अंकले ओरालो लागेको हो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार कारोबारमा आएका १५५ कम्पनीको मूल्य घटे । यस्तै १२ कम्पनीको मूल्य मात्र बढे । पछिल्लो समय सेयर बजार निरन्तर बरिहेकामा हिजो र आज केही करेक्सन देखिएको हो । बजार १.४६ प्रतिशतले घट्दा कारोबार रकममा कमी आएको छैन । आज दिनभर २ अर्ब ८१ करोड २८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर किनबेच भए । सोक्रममा १ सय ९९ कम्पनीका ७८ लाख ५६ हजार कित्ता सेयरको ४८ हजार कारोबार भयो ।

मंगलबार कारोबार सुरु भएदेखि ओरालो लागेको परिसूचक बीचमा केही सुधारिने प्रयास गरे पनि अन्तिमसम्मै ऋणात्मक रह्‍यो । कारोबारमा आएका ३ कम्पनीको मूल्य करिब १० प्रतिशतले ओरालो लाग्ने क्रमले अन्तिमसम्मै निरन्तरता पायो जसमध्ये लिबर्टी इनर्जी कम्पनीको मूल्य सर्वाधिक ९.८८ प्रतिशतले गिरावट आयो । घलेम्दी हाइड्रो र युनाइटेड मोदीको मूल्य पनि करिब १० प्रतिशतले घटे ।

बढ्नेमा युनाइटेड फाइनान्सको मूल्य सर्वाधिक १५ रुपैयाँ अर्थात् ६.८२ प्रतिशतले बढेको छ । समूहगत उपसूचकतर्फ आज कुनै पनि समूह बढेनन् । जसमध्ये विकास बैंक र जलविद्युत् समूह सर्वाधिक क्रमशः २.१६ र २.०८ प्रतिशतले ओरालो लागे । बैंकिङ समूहमा १.७७ र वित्त समूहमा १.६७ प्रतिशतको गिरावट आयो । परिसूचकका आधारमा निर्जीवन बिमा समूह सर्वाधिक ११२.६६ अंकले ओरालो लाग्दा जीवन बिमा समूहको उपसूचक १०९.४७ अंकले घटेको छ । नेप्से घट्दा बजारको कुल पुँजीकरण २० खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।