अवैध काठसहित एकजना पक्राउ

दाङ । डिभिजन वन कार्यालय दाङ र पुरन्धारा सब डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले सोमबार बबई गाँउपालिका वडा नं. ५ जौबारीमा अवैध चिरान काठसहित एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा बबई गाँउपालिका वडा नं. ५ निवासी २३ वर्षीय नवराज खत्री (के.सी) रहेको डिभिजन वन कार्यालयका खिम बहादुर केसीले जानकारी दिए ।

विना इजाजत अवैध वन पैदावार हानी नोक्सानी, लुकाइछिपाइ राखेको र ओसारपसार गर्न लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो । गस्ती टोलीले ४ घण्टाको निरन्तर खोजतलास पछि बबई गाँउपालिका वडा नं. ५ अन्तर्गतको जौवारी भन्‍ने स्थानमा रहेको नवराज खत्रीको घर करेसाबाट साल जातका गोलिया थान ६ को ६.५ क्यु फिट र सोही स्थानका भुपाल रोकाको घर करेसामा फेला पारेको चिरान काठ ६.८३ क्यु फिट गरी जम्मा १३.३३ क्युफिट काठ गस्ती टोलिको निरन्तर १७ घण्टाको प्रयासपछि बरामद गरेको छ ।