जिउँदो ‘सुनगोहोरो’ २ जना पक्राउ

काठमाडौं । दुर्लभ वन्यजन्तु ‘सुनगोहोरो’ बेच्न खोज्ने दुईजनालाई प्रहरीले काठमाडौंको मुलपानीबाट पक्रेको छ । महानगरीय प्रहरी वृत बौद्धले कागेश्वरी मनोहरा–६ मुलापनीबाट रामेछाप गोकुलगंगा घर भएका बिशाल तामाङ र सुभाष तामाङलाई पक्रेको हो ।

प्रहरी निरिक्षक कृष्ण श्रेष्ठको कमाण्डमा खटिएको टोलीले उनीहरुको साथबाट एउटा जिउँदो सुन गोहोरो बरामद गरेको छ । सुनगोहोरो १५ लाखमा ‘विक्री डिल’ गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

मुलपानी डेरा गरी बस्ने रामेछाप गोकुलगंगा–६ का मोहन तामाङको कोठाबाट दुई कारोबारी पक्राउ परेका हुन् । दुर्लभ बन्यजन्तु सुनगोहोरो कारोबारमा संलग्न मोहन भने भागेका छन् । उनको खोजी भईरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले बरामद गरेको सुनगोहोरो १ दशमल ५ इन्च लामो छ । सो बन्यजन्तुको प्रमाणिकरण र कानुनी कारवाहीका लागी प्रहरीले कारोबारीहरुलाई जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।