शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ ।

सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्ययोजना ल्याइएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढङगको प्रयास गराउने बताए ।

मन्त्रिपरिषद्को यही असोज १ गतेको निर्णयबाट यो कार्ययोजना स्वीकृत भएको हो । कोभिड–१९ को जोखिमका कारण अवरुद्ध विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु हुन नसकेको अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई व्यवस्थित गर्दै बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजना गर्न मन्त्रालयले यसअघि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी यही असोज १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।

मन्त्री पोखरेलले भने, ‘कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको छ । विद्यालय तहवाट सम्पादन हुने सबै कार्यक्रमहरु स्थानीय तहकै निर्देशन अनुगमन र समन्वयबाट सम्पादन हुने व्यबस्था गरिएको छ ।’ कार्ययोजनाको अनुगमन र सहजीकरण केन्द्र र प्रदेश सरकारले गर्नेछन् ।