अध्ययनका अनुसार कोरोना संक्रमणमुक्त भएका ३५ प्रतिशतमा ३ सातासम्म श्वासप्रश्‍वास समस्या

काठमाडौं । नेपालमा कोरोना संक्रमण निको भएको लामो समयसम्म पनि लक्षण देखिएको पाइएको छ ।

स्वास्थ्य अनुसन्धान परिषदले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले संक्रमणमुक्त भएका व्यक्तिहरुलाई तीन सातासम्म समस्या हुने देखाएको हो ।

परिषदले सातै प्रदेशमा कोरोना निको भएका १८ वर्षभन्दा माथिको उमेसमूहका ५५२ जनमा अध्ययन गरेको थियो ।

उनीहरुको शारीरिक, मानसिक र सामाजिक अवस्थाको स्थितिको अध्ययन गरेको थियो ।

सहभागीमध्ये ८९.१ प्रतिशतमा कोरोनाको सामान्य लक्षण देखिएको छ तर १०.९ प्रतिशतमा रुघाखोकी लाग्‍ने, चिसो महसुस हुने, गन्ध, स्वाद थाहा नहुने लक्षण पाइएको परिषदका सदस्य सचिव डा.प्रदिप ज्ञवालीले जानकारी दिए ।

यसैगरी ३५ प्रतिशत बिरामीहरुमा निको भएको दुईदेखि तीन सातासम्म पनि रुघाखोकी, थकान र श्वासप्रश्वासमा समस्या देखिएको अध्ययनमा भेटिएको उनले बताए ।

अध्ययनमा सहभागीमध्ये ७० प्रतिशत दीर्घरोगी भएको देखिन्छ ।

जसमा सबैभन्दा मधुमेह, मुटुसम्बन्धी रोगहरु, दमका रोगहरु, श्वासप्रश्वासको रोग र एचआईभीको बिरामी रहेको पाइएको परिषदले जनाएको छ ।

डा.ज्ञवालीका अनुसार कोरोना निको भएकाहरु सोही ५५२ जनामै मानसिक स्वास्थ्यमा गरिएको अध्ययनमा १५.१ प्रतिशतमा कोरोनाका बारेमा बारम्बार दिक्क लाग्‍ने र अनावश्यक विचार आएको देखिएको छ ।

७.७ प्रतिशतमा आफूप्रति अरुको नकारात्मक विचार आएको पाइएको छ ।

२१.४ प्रतिशत कोरोना निको भएकाहरुमा कामको चिन्ता, १९.२ प्रतिशतमा घरको चिन्ता र २९.६ प्रतिशतमा बेरोजगारीले आर्थिक चिन्ता देखिएको परिषदले जनाएको छ ।

उनीहरुले कोरोना संक्रमण हुँदा आफूहरु आफन्तबाट कुनै स्‍नेह र माया नपाएको गुनासो गरेका थिए ।

८४.३ प्रतिशतले सामाजिक भेदभाव र दुर्व्यवहारका कारण मानसिक चिन्ता बढेको सहभागीले बताएको प्रतिवेदनमा उल्लेख छ ।