अमेरिका पुर्‍याइएका प्राचिन मूर्ति नेपाल ल्याईंदै

काठमाडौँ — सन् ८० को दशकमा नेपालबाट चोरी भएर हाल अमेरिकाको न्यूयोर्कस्थित महानगरपालिकाको कला संग्रहालयमा रहेका उमामहेश्वर (शिव पार्वती) र गौतम बुद्धको मूर्ति नेपाल फिर्ता हुने भएको छ ।

कला संग्रहालयमा मंगलबार आयोजित विशेष समारोहमा उक्त मूर्तिहरु नेपाल सरकारलाई हस्तान्तरण गर्ने समझदारी भएको हो । न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनी र संग्रहालयका अध्यक्ष डेनियल एच वीससले समझदारी पत्रमा हस्ताक्ष्।र गरेसँगै ती मूर्ति नेपाल फिर्ता आउन लागेका हुन् । ती मूर्तिहरु भन्सार र कार्गो प्रक्रिया पुर्‍याएपछि अप्रिल महिनासम्ममा नेपाल आइपुग्ने छन् ।

उक्त मूर्तिहरु मध्ये टंगालहिटी पाटनमा रहेको शिवपार्वती (उमामहेश्वर) को मूर्ति तेह्रौं शताब्दीमा बनेको विश्वास छ । काठमाडौंको याट्खाटोलमा रहेको बुद्धको पूर्णकदको मूर्ति भने बाह्रौं शताब्दीको भएको अभिलेखमा बताइएको छ ।

वरिष्ठ कलाविद स्व। लैनसिंह बाङ्देलको सन् १९८९ मा प्रकाशित पुस्तक स्टोलन ईमेजेज अफ नेपालमा उक्त मूर्तिहरु बारे पनि उल्लेख छ । संग्रहालयमा उमामहेश्वरको मूर्ति सन् १९८३ मा र बुद्धको मूर्ति सन् २०१५ मा दाताले प्रदान गरेको अभिलेखबाट देखिएको थियो । दुवै मूर्तिहरु नेपालबाट चोरी भएर अमेरिका पुर्‍याइएको जानकारी प्राप्त भएपछि संग्रहालयले आफ्नो प्रदर्शनी कक्षबाट हटाएको थियो ।

समझदारी पत्र हस्ताक्षर समारोहमा संग्रहालयका अध्यक्ष वीससले अवैध तरिकाले आएका मूर्ति नराख्ने संग्रहालयको प्रतिबद्धता रहेको जनाएका थिए । यस्तै नेपालका महावाणिज्यदूत मरासिनीले संग्रहालयले मूर्ति फिर्ता गरेर पुरातात्विक वस्तुको अवैध व्यापार गर्नेलाई निरुत्साहित गरेको बताए ।