कतारबाट ३१२ नेपाली स्वदेश फर्किए

दोहा । कतारबाट दुई उडानमार्फत ३१२ नेपाली स्वदेश फर्किएका छन् । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकमध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४३ औं र ४४ औं उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ३ महिलासहित १४५ जना तथा हिमालय एयरलाइन्सको ९५६३२ उडानमार्फत २ महिलासहित १६७ नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रविण भट्टराईले बताए ।

स्वदेश फर्कन लागेका नेपालीहरूको यात्राको समन्वय, सहजीकरण तथा बिदाइका लागि दूतावासका कर्मचारीहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसैगरी, नेपाल एयरलाइन्सले दोहा–काठमाण्डौ सेक्टरका लागि सेप्टेम्बर २६, २७, २९ र ३० तारिखका लागि उडान तय भएको दूतावासले जनाएको छ ।