विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या २४४ पुग्यो

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरसबाट नेपालबाहिर मृत्यु हुने नेपालीको सङ्ख्या २४४ पुगेको छ ।

कोरोना संक्रमणबाट यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ । विदेशका विभिन्न १७ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४४ पुगेको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाले जानकारी दिए ।

स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, स्पेन र भारत लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ भने ब्राजिल र युगाण्डामा पनि नयाँ संक्रमण देखा परेको छ ।

समितिका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् भने अमेरिका, बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । एनआरएनको तथ्यांकअनुसार विश्वभर १ लाख ८ सय ३१ जना नेपालीमा संक्रमण देखिएको छ भने ती मध्ये ७९ हजार ७ सय ८२ जना कोरोना मुक्त भएका छन् ।