किट नपाउँदा बीपी प्रतिष्ठान धरान र कन्काईमा कोरोना परीक्षण बन्द

विराटनगर । प्रदेश १ का दुईवटा ल्याबबाट कोरोना परीक्षण बन्द भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पीसीआर परीक्षण बन्द गरेको छ ।

परीक्षणमा आवश्यक पर्ने किट सरकारले उपलब्ध नगराएकोले समस्या भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा सबैभन्दा धेरै पीसीआर परीक्षण हुने क्षमताको ल्याब सञ्‍चालनमा थियो । झापाको कन्काई ल्याबबाट समेत परीक्षण बन्द भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले संघीय सरकार र प्रदेश सरकारले किट नपठाउँदा परीक्षणमा कठिनाई भएको बताएका छन् । उता झापाको कन्काई ल्याबबाट समेत परीक्षण हुन सकेको छैन ।

किट नभएका कारण त्यहाँ एकका लागि एक अभियानअन्तर्गत जनताले लगानी गरेर बनाएको ल्याबबाट पीसीआर परीक्षण बन्द भएको छ । कन्काईबाट दैनिक ९० वटासम्म नमुना परीक्षण हुने गरेको थियो ।

बीपी प्रतिष्ठानमा भने पीसीआर परीक्षण नहुँदा शल्यक्रिया प्रभावित बन्‍न पुगेको छ । आकस्मिक कक्ष, शल्यक्रिया, हाडजोर्नी, प्रसूति वार्ड, बच्चा वार्डलगायतका वार्डमा भर्ना भएका शल्यक्रिया गर्नु पर्ने बिरामीको पीसीआर परीक्षण नुहँदा सेवा प्रभावित बन्न पुगेको हो ।

प्रतिष्ठानले निःशुल्क गर्दै आएको पीसीआर परीक्षण बन्द भएको र अब सशुल्क दुई हजार रुपैयाँ शुल्क लिएर फेरि परीक्षण सेवा सुरु गर्ने बताएका छन् । सरकारबाट रिएजेन्ट उपलब्ध नहुन्जेलसम्मलाई निःशुल्क परीक्षण गर्न नसकिने प्रतिष्ठानले सूचना जारी गरी जनाएको छ ।

विराटनगरस्थित प्रदेश प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले अहिले प्रयोगशालाले मात्र कोरोना परीक्षण गरिरहेको बताएका छन् । रिएजेन्ट केमिकल उपलब्ध नहुँदा अन्य ल्याबमा समेत परीक्षण बन्द हुने अवस्थामा आएको उनले बताए ।