कैलालीमा ५३१ सक्रिय कोरोना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दश दिनअघि प्रदेशमा ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा यो सङ्ख्या कूल एक हजार ८५ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित प्रदेशको राजधानी जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ५३१ जना पुगेका छन् । यसैगरी सक्रिय सङ्क्रमित बिरामी अछाममा १३० बैतडीमा ८० बझाङमा ११३, डडेलधुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८ र कञ्चनपुरमा ४७ सङ्क्रमित हुँदा बाजुरामा यसको दर शनिबार शून्यमा झरेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, बैतडी, डोटी र अछामका गरी थप ९८ जनामा कोभिड—१९ सङ्क्रमणको पुष्टि भएको छ । २४ घण्टमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या २५ दिनयता सबैभन्दा बढी हो ।

योसँगै प्रदेशमा कूल सङ्क्रमित छ हजार ९८२ जना पुगेका छन् । शनिबारसम्म उपचारपछि पाँच हजार ८८३ जना सङ्क्रमण निको भएर घर फर्केका छन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति रहेका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।