कात्तिक १ देखि भिड हुने सरकारी कार्यालय बन्द गर्न सुझाव आएको छ : ज्ञवाली

काठमाडौं । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पहिलेकैजस्तो मुलुकव्यापी लकडाउनको सम्भावना नरहेको बताएका छन् ।
ज्ञवालीले सरकारले अहिले त्यस्तो सोच नबनाएको, विकल्पका बारेमा विज्ञहरूको राय–सुझाव लिइरहेको बताएका हुन् ।

“अहिले लकडाउनका सम्बन्धमा केही पनि निर्णय भएको छैन । योजना पनि बनेको छैन । सरकार त्यसो गर्न पनि चाहँदैन,”उनी भन्छन्, “पछिल्लो समय काठमाडौंमा चुनौती थपिँदै गयो ।” उनले काठमाडौंमा चुनौती थपिनुमा तीन–चारवटा कारण रहेको औंल्याए ।

सार्वजनिक यातायातमा भिड बढेको र सङ्क्रमण फैलिएको हुनसक्ने उनले औंल्याए । त्यस्तै बजार क्षेत्र, सडकमा हुने धर्ना, नाराबाजी, जुलुस आदिले पनि सङ्क्रमण फैलाउन मद्दत गरेको उनको भनाइ छ ।

“यी सबै कारणले कुल सङ्क्रमितको ६० प्रतिशतभन्दा बढी उपत्यकाकै भएको र यो चुनौतीपूर्ण देएिको छ,” उनले बाह्रखरीसँग भने, “यसबारे हामीले विभिन्न कोणबाट अध्ययनहरू गरिरहेका छौं । विज्ञका सुझाव लिइरहेका छौं ।

अहिले पनि हाम्रो विश्वास, स्वास्थ्य प्रोटोकल पालना भयो भने, सङ्क्रमितहरूलाई आइसोलेट गरेर राख्न सक्ने हो भने नियन्त्रणभित्रै छ । यही क्रम बढ्दै गए सङ्क्रमितहरूको सङ्ख्यामा गुणात्मक वृद्धि आउँछ । योप्रति चिन्ता हो । तथापि, लकडाउनको सोच बनेको भने छैन ।”

उनले कात्तिक १ गतदेनि सेवाग्राहीहरूको घुइँचो लाग्ने सरकारी कार्यालय बन्द गर्ने कि भनेर पनि सुझाव आएको बताए ।