जग्गा ‘किर्ते नागरिकता’ बनाएर ठग्ने पक्राउ

 

काठमाडौं । नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरेर ५० करोड मूल्य पर्ने जग्गा ठगी गर्ने केवलप्रताप जंगबहादुर राणालाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०बाट खटिएको टोलीले ललितपुर महानगर–१३ कुसुन्ती घर भएका ३३ वर्षीय राणालाई रातोपुलबाट पक्रेको हो । ०७६ फागुन ११ मा पर्साको बीरगञ्ज महानगर–५ स्थित कमलादेवी राजभण्डारीको नाममा रहेको ५ कठ्ठा, पन्ध्र धुर र नौ कन्वामा बनेको घर सहितको जग्गा मुकेश राजभण्डारीको नाममा राजीनामा पास भयो । मालपोतका कर्मचारीसँग मिलेर मुकेश राजभण्डारीको नाममा सो जग्गा राजीनामा पास गरेको बताइएको छ ।

केवल प्रताप जंगबहादुर राणाले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट मुकेश राजभण्डारीको नाम राखेर ‘४७७३’ नम्बरको नागरिकता बनाएर ‘कमलादेवी राजभण्डारीको छोरो हुँ, अरु हकवाला छैनन्’ भनेर जग्गा पास गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । ‘ललितपुर महानगर–३ ठेगाना र ५० वर्ष उमेर कायम गरेर नागरिकताको प्रमाण–पत्र बनाएको देखिन्छ’ केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी सहकुल बहादुर थापाले भने–‘ठगी मुद्धामा थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएका छौं ।’

वास्तविक उमेर ३३ वर्ष भएपनि केवल प्रतापले कसरी ५० वर्ष उमेर कायम गरेर नागरिकता लिए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । सक्कली परिचय लुकाएर नक्कली नाममा जग्गा जग्गा राजीनामा पास गराएपछि उनले सो जग्गा बीरगञ्ज–४ बस्ने गिरधारीलाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना लिए । सो कुरा थाहा पाएपछि जग्गाका हकवाला राजिव राजभण्डारीले केन्द्रीय अनुसन्धान ब्युरोमा मुकेश बिरुद्ध उजुर दिए ।

‘अनुसन्धान गर्दै जाँदा केवल प्रतापले नक्कली नाम राखेर जग्गा ठगी गरेको खुल्यो’ केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता (एसपी) बेल बहादुर पाण्डेले भने– ‘उनीबिरुद्ध ठगी र नागरिकता किर्ते गरेको कसुरमा मुद्धा चल्छ ।’ केवल प्रताप पटके ठग हुन् । ०७० कार्तिक ३ मा क्रेडिटकार्ड फ्रड गरेको अभियोगमा महानगरीय प्रहरी परिसर ललितपुरमा मुद्धा दर्ता भएको थियो । ०७३ चैत ७ मा बैंकिङ कसुर मुद्धामा काठमाडौं प्रहरीले उनीबिरुद्ध मुद्दा चलाएको थियो ।