हत्याको आरोपमा तीन पक्राउ

सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि पक्राउ परेका छन् ।

तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साहलाई सोमबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती दाइमनदेवीको यही असोज १० गते हत्या भएको थियो ।

पक्राउ परेकामध्ये साहले ती महिलालाई भुइँमा लडाएर डोरीले घाँटीमा कसी हत्या गरेको खुल्न आएको प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए ।

‘बाँकी दुई जनाले बाहिर कोही आउँदैछ कि भनेर पहरा दिएको देखिएको छ’, उनले भने, ‘उनीहरुले गरेको अपराध स्वीकार गरेका छन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार मृतक महिलाकी देउरानीसँग प्रतिवादी ओमप्रकाश यादवको अनैतिक सम्बन्ध रहेको र सो कुरा दाइमन देवीले थाहा पाउँदा ओमप्रकाशले रिसइबी साँधेर उनको हत्याको योजना बनाएको खुल्न आएको छ ।

अर्का प्रतिवादी अजय यादव र मृतकबीच जग्गा विवाद देखिएको छ । मृतकको दुई बिघा जग्गा अजय यादवको बुबाले २०४७ सालदेखि जोतभोग गर्दै आएकोमा विवादका कारण बाली नबुझाएको देखिएको प्रहरीले जनाएको छ ।