पुरानै भाडादरसहित सार्वजनिक गाडीका सबै सिटमा यात्रु राख्न पाइने

काठमाडौँ । कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ ।

सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ । यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो ।

दशैँको समयमा यात्रुको चाप हुने भएकाले सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पूरा क्षमतामा यात्रु राख्न दिने र भाडा पूरानै लिनुपर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । यद्यपि यसबारे सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।