शवदाह गृह निर्माणको लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता

विद्युतीय शवदाहगृह निर्माणका लागि काठमाडौं महानगर र पशुपति क्षेत्र विकास  कोषबीच सम्झौता – देशसञ्चार

काठमाडौं । विद्युतीय शवदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ ।

पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो । महानगरपालिकाको आर्थिक वर्ष ०७७-७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाह गृह निर्माण हुनेछ ।

महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवदाह गृह निर्माणको सम्झौता गरिएको कोषका सदस्य(सचिव प्रदीप ढकालले बताए । अहिले दैनिक ३५ देखि ४५ वटा शवदाह हुने गरेकामा २० वटा शव विद्युतीय गृहमा दाह गर्ने गरिएको छ । लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उनले बताए ।

महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले वार्षिक बजेटमार्फत तीनवटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको अवस्थामा कोषले थप गृह निर्माणका लागि आग्रह गरेको बताए । अहिले निर्माण कार्य अगाडि बढेका सबै शवदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने उनले बताए ।

पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ । यस्तै बेवारिसे, अति विपन्‍न वा अन्य कारणले गर्दा शवदाह गर्न तिर्नुपर्ने शुल्क तिर्न नसक्ने अवस्थामा काठमाडौं महानगरपालिका र वडा कार्यालयहरुबाट सिफारिस भए निःशुल्क शवदाहको प्रबन्ध मिलाउनुपर्ने, अनुदानको रकम अन्य ठाउँमा प्रयोग गर्न नपाइने र रकम भुक्तानी गर्दा सहरी पूर्वाधार विकास कोषको सिफारिसमा मात्रै भौतिक प्रगतिका आधारमा उपलब्ध गराउने समझदारी भएको छ ।