डाक्टर नहुँदा शव परीक्षण हुन सकेन

जाजरकोट– जाजरकोटको बारेकोट गाउँपालिका–२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ ।स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो । फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा–२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो ।

दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले बताए । बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्यचौकी लिम्सामा करिब एक महिनादेखि डाक्टर नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ ।

दुईजना एमबिबिएस डाक्टरको दरबन्दी भएपनि हाल स्वास्थ्यचौकी डाक्टरविहीन हुँदा समस्या भएको ज्योतिले बताउनुभयो । नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकीबाट डाक्टर लिएर परीक्षण गर्ने तयारी भएको ज्योतिको भनाइ छ ।

बुधबार बेलुका माछा मारेर फर्कने क्रममा जाजरकोटको बारेकोट गाउँपालिका–८ का ४३ वर्षीय गोमे बुढाको पनि मृत्यु भएको छ । माछा लिएर घर फर्कने क्रममा गोलखारास्थित बाटोबाट लडेर नलगाड नदीमा परेपछि बुढाको मृत्यु भएको हो । साँघुरो बाटो भएकाले बुढाको लडेर मृत्यु भएको सक्लाका लोकेन्द्र गौतमले जानकारी दिए ।