चीनले भूमि मिचेको विषयमा तत्काल धारणा सार्वजनिक गर्नु पर्छ : नेपाली कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चीनले हुम्लामा नेपाली भूमि मिचेको विषयमा तत्काल धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँथ हुम्लामा चीनद्वारा मिचिएको भूमिबारे तत्काल धारणा सार्वजनिक गर्न माग गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सरकारलाई मिचिएको भूमिबारे राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनीतिक संवादमार्फत समाधान खोज्‍ने प्रक्रिया अविलम्ब सुरु गर्न माग गरेका छन् ।

हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर ढाकछोप गर्न प्रयत्नशील रहेको विषयलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको शर्माको भनाइ छ ।