बढी भाडा लिने बस र ट्याक्सिमाथी कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले तोकिएको भन्दा धेरै भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने बस र मिटरमा हिँड्न नमान्ने ट्याक्सिलाई कारवाही गरेको छ ।

अनुगमन गर्दा नियमविपरित काम गरेको फेला पारेपछि केही दिनयता ४४ वटा बस र ६६ वटा ट्याक्सिलाई कारवाही गरेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपत्यकामा ट्राफिक प्रहरीले चाडपर्व लक्षित सरप्राईज चेकिङ र एम्बुसिङलाई तिब्र बनाएको छ ।

छोटो दुरीमा यात्रु लिन इन्कार गर्ने ट्याक्सिलाई ग्राहकको हुलियामा हिँड्ने ट्राफिकले कारवाहीको दायरामा ल्याउने महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम प्रसाद ढकालले बताए । एसएसपी ढकालले भने–‘चाडपर्व लक्षित योजना सहित सादा पोशाकमा प्रहरी खटाएर बढी भाडा लिने सवारी बिरुद्ध कारवाही अभियान चलाएका छौं ।’

उपत्यकाका बसपार्क र मुख्य भिडभाड हुने चोकमा सवारी साधनमा स्वास्थ्य मापदण्ड पालना गरे नगरेको पनि ट्राफिक प्रहरीले अनुगमन गर्दै आएको छ ।

असोज महिनामा सिट क्षमता भन्दा बढी यात्रु राख्ने र मापदण्ड पालना नगर्ने १५ हजार ४ सय ५१ सवारी साधनलाई संझाई बुझाई गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।