प्रधानमन्त्री ओलीले आफु खुशी मन्त्री नियुक्त गरेको भन्दै अध्यक्ष प्रचण्डसहितका नेताहरु असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै सल्लाह नगरी मन्त्री थप गरेको बुझिएको छ ।

बुधबार बिहान ओली र प्रचण्डबीच छलफल भएपनि त्यसबारेमा प्रधानमन्त्री ओलीले कुनै चर्चा पनि नगरेको खुमलटार स्रोतले जनाएको छ । स्रोतका अनुसार दुई अध्यक्षबीच कर्णाली प्रदेशमा देखिएको विवादलाई कसरी समाधान गर्ने भन्ने विषयमा मात्र छलफल भएको थियो । बुधबार नै तीन जना मन्त्री चयन हुँदैछ भन्ने बारेमा चर्चा समेत नगरेको स्रोतले दावी गरेको छ ।

स्थायी कमिटीको बैठक तथा सचिवालयले गरेको निर्णय विपरीत प्रधानमन्त्री ओलीले मन्त्री चयन गरेको प्रचण्ड निकट नेताहरुको आरोप छ । कुनै पनि नियुक्ति गर्दा दुई जना अध्यक्षको परामर्श र सल्लाहमा गरिने पार्टीले निर्णय नै गरेको छ । तर प्रधानमन्त्री ओलीले पटक पटक पार्टीलाई बाइपास गरी निर्णयहरु गरिरहेको ती नेताको आरोप छ ।

यसअघि राजदूत नियुक्तिदेखि लिएर विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री ओलीले कुनै सल्लाह गरेका थिएनन् । यसपटक पनि त्यस्तै भएको बुझिएको छ । करिब एक महिनादेखि दुवै जना अध्यक्षबीच लगातार छलफल भइरहेको छ । मन्त्रिपरिषद्‍देखि लिएर सवैधानिक नियुक्ति लगायतका विषयमा छलफल भइरहेको छ । तर कुनै विषयमा सहमति बनिरहेको थिएन ।

प्रधानमन्त्री अ‍ोलीले खाली रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरौं त्यसपछि बाँकीको के गर्ने छलफल गरौंला भन्दै आएका थिए भने अध्यक्ष प्रचण्डले कार्यसम्पादन मूल्याकंनका आधारमा वा दुई वर्ष काम गरिसकेकालाई हटाएर अनुभवीहरुलाई मन्त्री बनाउन सुझाव दिएका थिए । तर ओली त्यसप्रति सकारात्मक थिएनन् ।

बुधबार प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालय अर्थमा महासचिव विष्णु पौडेल, सहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङलाई संचारमन्त्रीमा नियुक्त गरेका थिए ।

त्यस्तै महिला बालबालिकामा लिलानाथ श्रेष्ठ तथा रक्षा मन्त्री रहेका ईश्वर पोखरेलाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपषिद‍्को कार्यालयमा पठाएका थिए । यसरी प्रधानमन्त्रीले एकपछि अर्को सहमति उल्लंघन गर्दै गरेपछि नेकपाभित्र केही समयअघि मात्रै साम्य भएको भनिएको आन्तरिक कहल थप बल्झिने संकेत देखिएको छ ।

‘हामीसँग कुनै छलफल पनि गर्नुभएन । यो सचिवालय र स्थायी समितिको स्प्रिटअनुसारर पनि भएन । आजको निर्णयमा हाम्रो कुनै सहमति छैन । यो उहाँको आफूखुसी निर्णय हो’, एक सचिवालय सदस्यले भने, ‘यसले सहमतिको स्प्रिट समातेन,यो त पार्टीको बैठककोे धज्जी उडाउने काम भयो ।’

‘स्थायी समिति बैठकको स्प्रिट र सचिवालयको निर्णयलाई अनुसार अगाडि बढ्दा सरकार, पार्टी र सबैलाई राम्रो हुन्छ भन्ने अध्यक्ष प्रचण्डको कुरा हो । तर आजको मन्त्री थपमा भने कुनै सहमति छैन’, प्रचण्डको भनाई उदृत गर्दै एक नेताले रातोपाटीसँग भने, ‘समझदारीमा हुनुपर्ने निर्णय असमझदारीमा भयो । यसले पार्टी एकताको मर्म र भावना समेट्दैन ।’

त्यस्तै वरिष्ठ नेता नेपालले पनि आफूलाई थाहा नै नदिई मन्त्रीहरु थप गरेको भन्दै असन्तुष्टि जनाएका छन् । यसअघि प्रचण्डले ओलीसँगको छलफलमा मन्त्रिपरिषद पुनर्गठन गर्दा अपवादका रुपमा पुराना मन्त्रीहरुलाई राख्नुप रे राख्ने नत्र प्रधानमन्त्रीबाहेक सबै मन्त्री परिवर्तन गर्नुपर्छ भन्ने अडान राख्दै आएका थिए ।

गत भदौ २६ गते सम्पन्न स्थायी समिति बैठकको म्याण्डेटअनुसार मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा मन्त्रीहरुको नियुक्ति गर्दा दुबै अध्यक्षको सहमतिमा गर्ने उल्लेख थियो ।

त्यस्तै असोज ४ गते पेरिसडाँडामा बसेको सचिवालय बैठकमा पनि यसबारेमा छलफल भएको थियो । उक्त बैठकमा नियुक्तिमा निश्चित मापदण्ड तय गर्ने र सोही अनुसार अघि बढ्ने सहमति भएको थियो । मापदण्ड तय गर्न दुई अध्यक्षबीच भएका पटक(पटकका संवाद सहमतिमा पुग्न सकेको थिएन ।