सहकारीले दशैँतिहारलाई एक करोडका खसीबोका बिक्री गर्दै

बागलुङ । नेपालीको महान् पर्व दशैँतिहार नजिकिएसँगै च्याङ्ग्रा, खसी र बोकाको जोहो गर्न थालिएको छ ।

दशैँ तिहारमा मासुका लागि प्रयोग गरिने च्याङ्ग्राको कम आयात र मूल्यमा वृद्धि भएका कारण नागरिकको ध्यान खसीबोकामा जान थालेको छ ।

बागलुङको एक गाउँमा दशैँ र तिहारका लागि बिक्रीका लागि एक हजार खसी बोका तयार गरिएका छन् । नजिकिँदै गरेको दशैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् ।

तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसी तथा बोका बिक्रीबाट वार्षिक रु दुई करोड भित्र्याउँदै आएका छन् । जसमध्ये दशैँ तिहारमा मात्रै करिब रु एक करोडका खसीबोको कारोवार गर्दै आएका छन् ।

तंग्राममा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत छ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् । दशैँ तिहारका लागि सप्तरङ्गी सहकारीले ३९५ र वसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् ।