छैटौँ मानवअधिकार फिल्म फेस्टिभलमा पाँच फिल्म पुरस्कृत

काठमाडौं– छैटौँ मानवअधिकार फिल्म फेस्टिभलमा पाँच फिल्म पुरस्कृत भएका छन् । वृत्रचित्र र फिक्सन विधाका फिल्मलाई पुरस्कृत गर्दै महोत्सव समापन भएको छ ।बेलायतका निर्देशक जारा बाल्फोर र मार्कस स्टेफन्सनको फिल्म ‘द चिल्ड्रेन अफ द स्नो’ले फेस्टिभलमा ‘बेस्ट इन्टरनेसनल नन फिक्सन’ अवार्ड प्राप्त गरेको छ । नेपालको उच्च हिमाली क्षेत्रका तीन विद्यार्थीको कथा फिल्ममा समेटिएको छ ।

शनिबार भएको समारोहमा टर्की र इरानको फिल्म ‘इट रेन स्लोली’ ले ‘वेस्ट इन्टरनेसनल फिक्सन’ फिल्म अवार्ड प्राप्त गरेका छ । साइद नेजाती मिकलिन निर्दे्शित फिल्म सन १९८० को दशकमा शिक्षकले विद्यार्थीहरूलाई कसरी स्वतन्त्रताबारे पढाए भन्ने विषयमा केन्द्रित छ ।
दीपक तोलाङे निर्देशित ‘छारो डस्ट’ भने नेसनल ननफिक्सन अवार्डका प्राप्त गर्न सफल भयो । ५० मिनेटको लामो भिडियोमा इँटाभट्टामा काम गर्ने बालबालिकाको कथा समेटिएको छ ।
त्यस्तै नेसनल फिक्सन अवार्ड ‘वधः लेट हर ब्रेथ’ले पाउन सफल भयो । श्रीलता राणा निर्देशित फिल्मले एउटी बालिकाको तीतो बालयकाल, युवाअवस्था र सम्बन्धहरू देखाएको छ ।
पुरस्कृत फिल्मले राइनो अवार्डसँगै जनही ४० हजार रूपैयाँ पाए । जुरी अवार्डअन्तर्गत भने नेपालको मुगु क्षेत्रका बालबालिकाको मनोविज्ञान र जीवनशैली समेटिएको फिल्म ‘जालगेडी’ उत्कृष्ट ठहरियो। राजेशप्रसाद खत्री निर्देशित ‘जालगेडी’ बाट नै समारोह समापन गरिएको थियो ।

पाकिस्तानकी मेहरा ओमार निर्देशित डकुमेन्ट्री ‘परविन रहमान स् द रिवेल अप्टिमिस्ट पाकिस्तान’ र बेलायतका एडवार्ड वाट्स निर्दे्शित ‘अक्सिजेन’ फिल्मले ‘स्पेसल मेन्सन’ अन्तर्गत प्रमाणपत्र पाए ।