कैलालीमा रासायनिक मलको अभाव

कैलाली । हिउँदे खेती गर्ने समयमा कैलालीमा रासायनिक मलको चर्को अभाव भएको छ ।

हिउँदे खेतीअन्तर्गत किसानले तोरी छर्ने र तरकारी लगाउने बेलामा आवश्यक पर्ने रासायनिक मलको चर्को अभाव भएको हो । उत्पादन बढी लिन बोटबिरुवालाई चाहिने आवश्यक रासायनिक मल हाल्नुपर्ने बेलामा मल नपाएपछि कैलालीका किसान यसका लागि भौतारिन थालेका छन् ।

बर्खे धानबालीमा रासायनिक मल हाल्न नपाएर उत्पादनमा ह्रास आएको हुनाले हिउँदे सिजनको बाली राम्रो उत्पादन लिने किसानका सपना मल अभावले अहिले पनि तुहिने सम्भावना बढेको छ । तोरी छर्ने बेलामा आवश्यक रासायनिक मल युरिया र डिएपी नपाउँदा उत्पादन नहुने हो कि भन्ने चिन्ता बढेको टीकापुर–१ का किसान सीता चौधरीले बताए ।

“मल अभाव छ, खेती गर्ने बेलामा मल नपाए उत्पादन हुँदैन”, उहाँले भन्नुभयो, “मानिसले वस्तुभाउ पाल्न पनि छाडिसके, वस्तुभाउको मल पनि पाउन सकिँदैन । यस्तो बेला कसरी खेती गर्नु ?”

खेतीपाती गर्ने बेलामा रासायनिक मल अभाव झेलेको किसान हिउँदे खेतीका लागि पनि मल अभावमै खेती गर्नुपर्ने परम्परागत बाध्यताजस्तै बनिसकेको छ । हिउँदे बालीअन्तर्गत गरिने खेती र तरकारी बालीका लागि आवश्यक मात्रामा रासायनिक मल नपाउँदा हिउँदे बालीमा समेत उत्पादनमा कमी आउने टीकापुर–२ का रतनसिंह खड्काले बताए । “बजारमा मल नै छैन, किसानका लागि आवश्यक मल, बीउ र सिँचाइ सहज पाए पो खेतीपातीमा मन लाग्छ ।”

यस वर्ष सीमानाकामा कडाइ गरिएका कारण उनले मल ल्याउन पाएनन् । “गतवर्ष सहजै भारतबाट मल ल्याइयो, यो वर्ष बर्खे खेतीका लागि पनि मल पाइएन”, उनले भने, “मैले त यस वर्ष मल नपाएकै कारण सबै खेतमा मसुरो छरेको छु । मसुरोका लागि मल नभए पनि खासै असर गर्दैन ।” विकले करिब एक बिघामा व्यावसायिक तरकारी खेती गरेका छन् । यस वर्ष उनले आफूलाई खानका लागि मात्रै तरकारी लगाउने तयारी गरेका छन ।

कृषि सामग्री कम्पनी सुदूरपश्चिम प्रदेश कार्यालयमा अहिले युरिया र डिएपी मलको मौज्दात शून्य छ । कृषि सामग्री कम्पनीसँग ३०० टन पोटासबाहेक अन्य रासायनिक मलको मौज्दात नरहेकाले तत्काल किसानले मल पाउने सम्भावना कम रहेको कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख नवलसिंह बोगटीले बताए । “किसानले अहिले पाउने अवस्था छैन, हामीसँग युरिया र डिएपी मलको मौज्दात शून्य छ”, उनले भने , “किसानका लागि आवश्यक मल माग भइरहेकाले तोरी र गहुँ खेतीका लागि दशैँपछि मात्र युरिया र डिएपी मल उपलब्धता हुनेछ ।”