अस्पतालबाट डिस्चार्ज डा.केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

१९ औं अनसन तोडेर असोज २५ गतेदेखि अस्पतालमा उपचाररत डा.केसी मंगलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका डा केसी आफ्ना भाइको घर सुकेधारा गएका छन् ।  भदौं २९ गतेदेखि जुम्लाबाट अनसन शुरु गरेका डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।

अनसनको २७ औं दिनमा गत असोज २४ गते राति १२ बजे शिक्षा मन्त्रालयको टोली र डा केसीबीच माग सम्बोधन गर्ने सम्झौता भएपछि डा केसीले २५ गते टिचिङ अस्पतालका सरसफाइ कर्मचारीको हातबाट जुस पिएर अनसन तोडेका थिए ।

लामो समयसम्म अनसन बस्दा बिरामी परेका डा केसी आइसीयुमा भर्ना भएका थिए । उनलाई केही दिन अघि आइसीयुबाट सामान्य वर्डामा सारिएको थियो । स्वास्थ्य अवस्था ठिक भएपछि आज डा केसी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।