साताको अन्तिम कारोबार दिन पनि सेयर बजारमा हरियाली

ठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार बढेर बन्द भएको छ । दसैँअगाडिको आज अन्तिम कारोबार दिन पनि भएको र आज सेयर खरिद गरेको पैसा दसैँपछि मात्रै भुक्तानी गर्दा हुने भएपछि बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।

प्रि-ओपनिङ सेसनमै दोहोरो अंकले बढेर बजार खुलेसँगै नेप्से घट्न सुरु भएको थियो । तर १२ बजेपछि भने बढ्न सुरु भएको बजार परिसूचक दसैँअगाडि १६०० अंकभन्दा माथि पुगेर बन्द भएको छ ।

आज नेप्से ८.५४ अंकले बढेर १६०६.२६ अंकमा पुगेको छ । आज नेप्सेमा होटेल, हाइड्रोपावर, जीवन बिमा र सामूहिक लगानी कोष समूहको सूचक करेक्सन हुँदा त्यसबाहेकका सबै समूहको सूचक बढेको छ । बैंकिङ समूहको सूचकले बजारलाई लिड गरेको छ । बजारलाई लिड गर्ने बैंकिङ समूहको सूचक नै ०.९५ प्रतिशतले वृद्धि हुँदा नेप्सेमा पनि बढेको हो ।

यता दसैँपछि पैसा तिरे हुने भएपछि नेप्सेमा खरिद चाप बढेको छ । जसले गर्दा कारोबार रकम पनि बढेर करिब दुई खर्ब पुगेको छ । आज नेप्सेमा ३० हजार ३२८ वटा कारोबारमा १८७ कम्पनीको ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड ४५ लाख ४४ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार रकममा बजारलाई कुमारी बैंकले साथ दिएको छ । अपेक्षाभन्दा बढी १४ प्रतिशत लाभांश घोषणा गरेको बैंकको १४ करोड १५ लाख ४५ हजारको सेयर कारोबार भएको छ । यस्तै एनआईसी एशिया बैंक, अपी पावर, प्राइम कमर्सियल बैंक र नेपाल बैंक कारोबार रकमका आधारमा अगाडि देखिएका छन् ।

यस्तै जनरल इन्स्योरेन्सको सेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । गत साता नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयर मूल्यमा लगातार रुपमा पोजेटिभ सर्किट लाग्दै आएको छ । त्यस्तै नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपी पावरको सेयर मूल्य ४.१९ प्रतिशतले वृद्धि हुँदा, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका लगानीकर्ताले पनि ३ प्रतिशत माथिले कमाएका छन् । गुमाउनेमा भने हाइड्रोपावरका लगानीकर्ता अगाडि देखिएका छन् ।