कोरोना संक्रमित ९५ वर्षीय वृद्धको रुपन्देहीमा मृत्यु

बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको आइतबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा।विष्णु गौतमले जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।  जिल्लाका ७९ जना लक्षणसहितका संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । कूल ६ हजार १८८ जना संक्रमित रहेका रुपन्देहीमा ४ हजार ६१६ जना निको भएका छन् भने १४ सय ९२ जना होम आइसोलेसनमा रहेका छन् ।