कांग्रेसका महासमिति सदस्यको कोरोना संक्रमणको कारण मृत्यु

वीरगञ्ज । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो ।

शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं.१ का सभापति विजयशंकर यादवले जानकारी दिए ।

वीरगञ्जको नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशाला गरिएको परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

‘श्वास प्रश्वासमा समस्या आएपछि कोल्हवीकै स्वास्थ्य संस्थामा तीन दिनदेखि भर्ना हुनुहुन्थ्यो,’ यादवले भने, ‘कोरोनाको आशंका लागेर शनिबार पीसीआर परीक्षण गराउन नारायणी अस्पताल लगिएको थियो, रिपोर्ट पोजेटिभ नै आयो । त्यसपछि उपचारका लागि नर्भिक लैजाँदा बाटोमा नै निधन भयो ।’ महासमिति सदस्य मण्डलको निधनप्रति नेपाली कांग्रेस बाराले दुःख व्यक्त गरेको छ ।