डबिङ विज्ञापन प्रसारण गर्नेलाई कारबाहीको तयारी

काठमाडौं । डबिङ गरेको विज्ञापन प्रसारण गर्ने सञ्‍चारमाध्यमलाई सरकारले कारबाहीको तयारी गरेको छ ।

 

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने र नेपालका सञ्चारमाध्यमले पनि विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्न नपाउने व्यवस्था छ । यो ऐन गत कात्तिक ८ देखि कार्यान्वयनमा आएको छ ।

ऐनको व्यवस्थाअनुसार विदेशी विज्ञापन डबिङ गरेर प्रसारण गर्नेलाई ऐनको व्यवस्थाअनुसारै कारबाही हुने विज्ञापन बोर्डका अध्यक्ष डिल्लीराम शर्माले बताए । “मन्त्रालयको प्राविधिक टोलीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । डबिङ गरेर विज्ञापन प्रसारण गर्नेलाई कारबाही हुने जानकारी पनि गराइसकेका छौं,” उनले भने । उनले ऐनमा भएको व्यवस्थाअनुसार कारबाही हुने बताए ।

ऐनको दफा २५ को कसुर र सजायमा दफा ६ बमोजिमको कसुर गर्ने गराउने व्यक्तिलाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुन्छ । ऐनको दफा ६ को १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित ९क्लिनफिड० प्रसारण गर्नुपर्नेछ र ३ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चारमाध्यमले पुनस् प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न पाइने छैन भनेको छ । यो व्यवस्थाविपरीत गरे ५ लाख रुपैयाँसम्म जरिवाना हुने ऐनमा व्यवस्था गरिएको छ । “अहिले हामी ऐन कार्यान्वयनको चरणमा छौं । ऐनमा भएको व्यवस्थाअनुसार बडिङ गरेर विज्ञापन प्रसारण गर्न पाइँदैन,” उनले भने, “प्रसारण गरेर कारबाहीको भागिदार हुनुपर्छ ।”