२४ घण्टामा २८२४ कोरोना संक्रमित थपिए

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ८२४ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ६२० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३४ हजार ८४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।  देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ३८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।  यससँगै कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ ।

शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।