काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा एकैदिन दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा घर भई बुद्धनगरमा भाडामा बस्दै आएका अन्दाजी ५३ वर्षका एक पुरुषको आइतबार दिउँसो ज्यान गएको वडा कार्यालयले जनाएको छ । उनको बिहान मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

बिहान कोरोना रिपोर्ट आएसँग अचेत अवस्थामा पुगेका उनको दिउँसो १ बजेतिर ज्यान गएको काठमाडौं महानगरपालिकाका वडा नं १० का वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए । उनी उच्च रक्तचापको बिरामी रहेको बताइएको छ ।

त्यस्तै, आइतबार अपराह्न बानेश्वर हाइटमा एक वृद्धाको ज्यान गएको वडाध्यक्ष केसीले जानकारी दिए । करिब ८ दिन अघि कोरोना संक्रमण देखिएकी ती वृद्धा होम आइसोलेसनमा नै थिइन् । 

‘दुवै मृतकमा कोरोना पोजेटिभ आएको परिवारले जनाएका छन्’ वडाध्यक्ष केसीले अनलाइनखबरसँग भने ‘वानेश्वर हाइटमा निधन भएकी वृद्धामा कोरोना पोजेटिभ देखिएदेखि नै स्वास्थ्य समस्या बढीरहेको भन्ने जानकारी आएको छ ।’  नेपाली सेनाको शव व्यवस्थापन टोलीले मृतकको घरमा पुगेर शव उठाउने काम भइसकेको वडाध्यक्ष केसीले बताए ।